विराटनगर १२ का वडा अध्यक्ष हिरालाल कामत बैंकिङ कसुरमा पक्राउ
विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हिरालाल कामतलाई बैंकिङ कसुरको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको छ।
मिति: २०२४-१२-२४ , समय : ११:१८:१० , राम कुमार शर्मा
मिति: २०२४-१२-२४ , समय : ११:१८:१० , राम कुमार शर्मा
राम कुमार शर्मा
विराटनगर – विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हिरालाल कामतलाई बैंकिङ कसुरको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको छ। आर्थिक लेनदेनका विवादमा पटक-पटक विवादमा आउने गरेका कामतलाई मंसिर २५ गते मोरङ अदालतले पक्राउ पूर्जी जारी गरेपछि सोमबार दिउँसो चार बजे पक्राउ गरिएको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी बेदप्रसाद जोशीका अनुसार कामतविरुद्ध जहदा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गुरुदयानन्द ठाकुरले जाहेरी दिएका थिए। ठाकुरले कामतले दिएको पाँच लाख रुपैयाँको चेक बाउन्स भएको भन्दै उजुरी दर्ता गरेका थिए। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
कामत जसपाबाट निर्वाचित भएका वडा अध्यक्ष हुन्। रोचक पक्ष यो छ कि उजुरी दिने गुरुदयानन्द ठाकुर पनि जसपाबाट निर्वाचित वडा अध्यक्ष हुन्। मोरङ प्रहरीले कामतलाई मंगलबार अदालतमा उपस्थित गराएर थप अनुसन्धान अघि बढाउने जनाएको छ।
कामतको विरुद्ध बैंकिङ कसुरमा उजुरी दर्ता भएपछि कात्तिकमा नै मुद्दा चलाइएको थियो। प्रहरीले कामतलाई पक्राउ गरी घटनाको अनुसन्धान तीव्र बनाउने बताएको छ।
प्रकाशित मिति: २०२४-१२-२४ , समय : ११:१८:१० , ४ महिना अगाडि