रंगेली वार्ड नं ५ मा चोरीका घटनाको बिगबिगी, प्रहरी र सिसी क्यामेरा दुवै प्रभावहीन
मिति: २०२४-१२-२८ , समय : १९:४३:२६ , पारस मण्डल
मिति: २०२४-१२-२८ , समय : १९:४३:२६ , पारस मण्डल
पारस मण्डल
रंगेली वार्ड नं ५ मा चोरीका घटनाको बिगबिगी, प्रहरी र सिसी क्यामेरा दुवै प्रभावहीन
रंगेली वार्ड नम्बर ५ मा पछिल्ला केही महिनादेखि चोरीका घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन्। बैजनाथ पण्डितको घरमा भएको चोरी, किसानहरूको खेत र घरबाट बोरिङ मोटर चोरी, निर्माणाधीन खानेपानी कार्यालयबाट मोटर चोरी, र दक्षिण टोलमा गणेश मण्डलको घरमा असफल चोरी प्रयास जस्ता घटनाहरूले सुरक्षा व्यवस्थाको कमजोरी उजागर गरिरहेका छन्।
स्थानीय प्रशासनले चोरी नियन्त्रणका लागि प्रयास भइरहेको दाबी गरे पनि चोरीका घटना दिनहुँ भइरहनु र दोषीलाई कानुनी दायरामा ल्याउन नसक्नुले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
सिसी क्यामेरा निष्क्रिय, राज्यको रकमको दुरुपयोग
नगरपालिकाद्वारा चोरी नियन्त्रणका लागि लगाइएका सिसी क्यामेराहरू पनि प्रभावहीन साबित भएका छन्। कतिपय क्यामेराहरूले रेकर्डिङ गर्न नसक्ने समस्या देखाएका छन् भने कतिपयमा लाइन नै छैन। राज्यको लाखौं रुपैयाँ खर्चेर जडान गरिएका उपकरणहरूले काम नगर्नु र चोरी नियन्त्रणमा कुनै मद्दत पुर्याउन नसक्नुले स्थानीयहरूलाई थप निराश बनाएको छ।
स्थानीय बासिन्दाहरूले सुरक्षामा सुधारका लागि प्रहरी प्रशासन, सशस्त्र प्रहरी र नगरपालिकालाई ठोस कदम चाल्न आग्रह गरेका छन्। चोरीका घटनाको वृद्धिले न केवल नागरिकको सुरक्षामा असर पुर्याएको छ, तर राज्य प्रणालीप्रति विश्वास समेत कमजोर पारेको छ।
यस्ता घटनाको रोकथामका लागि तत्काल सुरक्षा व्यवस्थाको पुनरावलोकन गर्दै प्रभावकारी निगरानी र दोषीमाथि कडा कारबाही गर्नुपर्ने आवश्यकता छ। अन्यथा, चोरीका घटनाले सामाजिक अस्थिरता निम्त्याउन सक्ने चेतावनी स्थानीयले
दिएका छन्।
प्रकाशित मिति: २०२४-१२-२८ , समय : १९:४३:२६ , ४ महिना अगाडि