गृह श्रमिक सृजनशील महिला समाज नेपालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

अध्यक्ष श्रेष्ठकै नेतृत्वलाई निरन्तरता दिँदै नयाँ समिति सर्वसहमतिबाट गठन गरियो।

मिति: २०२५-०२-१० , समय : ०७:४७:१९ , राम कुमार शर्मा

राम कुमार शर्मा

रंगेली | मोरङ्गको रंगेली–६, थाना टोलस्थित आईतवार गृह श्रमिक सृजनशील महिला समाज नेपालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा अध्यक्ष शान्ता श्रेष्ठको अध्यक्षता तथा रङ्गेली ६ नम्बर वडाका अध्यक्ष सुजित कुमार मण्डलको प्रमुख आतिथ्यतामा र अन्य अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाले हालसम्म गरेको कार्यविधि, आम्दानी, खर्च इत्यादिको जानकारी खुला रूपमा उपस्थित सदस्यहरूलाई जानकारी गराइएको थियो।

बन्द सत्रको आयोजना गरी सर्वसम्मतिबाट पुनः नयाँ कार्यसमितिको गठन गरियो। नवनिर्वाचित कार्यसमितिमा व्यक्तिगत कार्य व्यस्तताका कारण समय दिन नसक्ने केही सदस्यहरू परिवर्तन भएको बाहेक पुरानै समितिलाई पुनः रूपमा गठन गरी निरन्तरता दिइएको छ।

गठित समितिमा क्रमशः अध्यक्ष: शान्ता श्रेष्ठ, उपाध्यक्ष: कमला न्यौपाने, कोषाध्यक्ष: कविता नेपाल, सचिव: उषा राय माझी कुँवर ,सह-सचिव: कमला कटुवाल, सदस्यहरू: अमृता राई, ममता पासवान, आशोदेवी माझी, गीत पासवान निर्वाचित भएका छन्।

यस संस्थाले विगत तीन वर्षदेखि रंगेलीलाई केन्द्र बनाएर महिला तथा समाज उत्थानका लागि आवस्यक विभिन्न शिक्षा, सीप, तालिम, जनचेतना तथा स्वरोजगार सिर्जना गर्न सक्ने कार्यहरू गर्दै आएको छ।

यस्तै कार्यक्रमअन्तर्गत रंगेली–७ स्थित रंगेली नगरबाट उपलब्ध गराइएको सटरमा गृह श्रमिक कोसेली घर ( गृह महिलाहरुले हातबाट निर्माण गरिएका सामग्रीहरू बेच्न राखिने स्थान) पनि सञ्चालनमा ल्याइएको छ। जहाँबाट महिलाहरूले आफूले आर्जन गरेका वा भएका ज्ञान, सीप, र कलाबाट घरमै बसेर फुर्सदको समयमा उत्पादन गरेका सामग्रीहरू तथा खाद्य वस्तुहरू बिक्री–वितरण गर्न सहयोग गरेका छ।

प्रकाशित मिति: २०२५-०२-१० , समय : ०७:४७:१९ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित