तेली साह समाज जहदाको ८औं साधारण सभा सम्पन्न
मिति: २०२५-०४-१९ , समय : २१:१९:१३ , Our Pradesh
मिति: २०२५-०४-१९ , समय : २१:१९:१३ , Our Pradesh
Our Pradesh
तेली साह समाज जहदाको ८औं साधारण सभा सम्पन्न
जहदा, मोरङ – जहदा गाउँपालिका वडा नं. ३ मा अवस्थित तेली साह समाज जहदाले आफ्नो ८औं साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। समाजलाई स्थानीय लाखपति साहद्वारा दान गरिएको २ कठ्ठा जग्गामा आयोजित सभामा करिब २०० जना सजातीयहरूको उपस्थिति रहेको थियो।
साधारण सभाको उद्घाटन जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले गर्नुभएको थियो। सो अवसरमा उपाध्यक्ष हन्ना सोरेन, तेली कल्याण समाज नेपाल मोरङका जिल्ला अध्यक्ष डा. बालकृष्ण साह, नेपाली कांग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेपाल कुर्मी समाजका प्रतिनिधि हरिहर राय, तथा बीआईसी नेपालका गणेश कुमार साह लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा जग्गादाता लाखपति साहलाई समाजप्रति गरेको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो। उनले समाजको सामुदायिक भवन निर्माणका लागि २ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका हुन्।
सभाले तेली साह समाजलाई “तेली कल्याण समाज नेपाल” अन्तर्गत रहेर संगठन विस्तार गर्ने, सजातीय संस्कार, संस्कृति र पहिचान जोगाउने तथा समाजमा विद्यमान कुरितिहरूको विरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ।
सोही सभाले सर्वसम्मतिले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिमा अध्यक्षमा सोहित कुमार साह, उपाध्यक्षमा रामदेव साह, सचिवमा राजकुमार साह, सहसचिवमा श्यामावती साह, कोषाध्यक्षमा सरिता कुमारी साह चयन भएका छन्। सदस्यहरूमा विनोद प्रसाद साह, ओमन लाल साह, सन्तोष साह, संगिता साह, रिना देवी साह, गुलाव चन्द साह, सन्तोष कुमार साह र कृष्ण साह रहेका छन्।
नयाँ कार्यसमितिलाई निर्वाचन अधिकृत लिलाकान्त साहले समाजका जिल्ला अध्यक्ष डा. बालकृष्ण साह, जिल्ला सदस्यहरू गणेश कुमार साह र धमेन्द्र साहको रोहबरमा सपथ ग्रहण गराएका थिए।
कार्यक्रम संयोजन समाजका सक्रिय सदस्यहरूको पहलमा सफलतापूर्वक सम्पन्न भएको थियो।
प्रकाशित मिति: २०२५-०४-१९ , समय : २१:१९:१३ , १२ घन्टा अगाडि