जम्मू–कश्मीरको पहलगाममा आतंकी हमला: एक नेपालीसहित २६ जनाको मृत्यु
मिति: २०२५-०४-२२ , समय : २३:२३:१६ , Our Pradesh
मिति: २०२५-०४-२२ , समय : २३:२३:१६ , Our Pradesh
Our Pradesh
जम्मू–कश्मीरको पहलगाममा आतंकी हमला: एक नेपालीसहित २६ जनाको मृत्य
लश्कर–ए–तैयबाद्वारा आक्रमणको जिम्मेवारी स्वीकार
सुरक्षाबलको घेराबन्दी, गृहमन्त्री र रक्षामन्त्रीको आपतकालीन समन्वय
मोरङ ,विराटनगर| वैशाख ९ – जम्मू–कश्मीरको अनन्तनाग जिल्लास्थित पर्यटकीय क्षेत्र पहलगामको बैसारन उपत्यकामा मंगलबार दिउँसो भएको भीषण आतंकी हमलामा परी कम्तीमा २६ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये एक नेपाली नागरिक सुदीप न्यौपाने पनि छन्।
आक्रमण दिउँसो करिब २:४५ बजे भएको हो, जब आतंककारीहरूले पर्यटकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। उनीहरूले पहिचान सोधेर टाउकोमा गोली हानेर उत्तर प्रदेशका शुभम द्विवेदीको हत्या गरेको जानकारी दिइएको छ। शुभम दुई महिनाअघि विवाह गरी हनिमून मनाउन पत्नीका साथ पहलगाम पुगेका थिए।
मृतकमध्ये उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक, गुजरात, तमिलनाडु, ओडिशा, युएई र नेपालका नागरिकहरू छन्। घटनामा दुई स्थानीय बासिन्दाको समेत मृत्यु भएको पुष्टि गरिएको छ।
भारतीय सुरक्षाबलले पहलगाम क्षेत्रलाई तत्काल घेराबन्दी गरेर हेलिकप्टरमार्फत निगरानी थालेका छन्। २० भन्दा बढी घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
यस आतंकी घटनाको जिम्मेवारी पाकिस्तानी आतंकी संगठन लश्कर–ए–तैयबाले लिएको छ। घटनाको अनुसन्धानका लागि भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA) को टोली बुधबार पहलगाम पुग्नेछ।
भारतका गृहमन्त्री अमित शाह श्रीनगरमा सेना र प्रशासनका उच्च अधिकारीहरूसँग आपतकालीन समन्वय बैठकमा सहभागी भइरहेका छन् भने रक्षामन्त्री राजनाथ सिंहले सेना प्रमुखसँग सम्पर्क गरेर विवरण लिएका छन्।
यसबीच जम्मू चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले घटनाको विरोधमा बुधबार जम्मू बन्दको आह्वान गरेको छ। दिल्ली, मुम्बईसहितका प्रमुख सहरहरूमा सुरक्षा सतर्कता बढाइएको छ।
मृतकहरूको नामावली:
मनुज नाथ, शिवम मोगा, लेफ्टिनेन्ट विनजय नरवाल, हिमांशी नरवाल, शुभम द्विवेदी, दिलीप डेसले, अतुल मोहने, सैयद हुसैन शाह, सुदीप न्यौपाने (नेपाल), बिटन अधिकारी, उधवानी कुमार, संजय लेले, हिम्मत कलाथय, प्रशान्त कुमार, मनीष राजन, रामचन्द्रन, शलिन्दर कल्पिया
घाइतेहरू:
विनो भट्ट, एस. बालचन्द्रु, अभिजवन राव, संतरु, साहसी कुमारी, डा. परमेश्वर, माणिक पाटिल, रिनो पाण्डे
विश्लेषकहरूका अनुसार यो हमला २०१९ को पुलवामा हमलापछि जम्मू–कश्मीरमा भएको सबैभन्दा ठूलो आतंकी हमला हो। यसले पुनः एकपटक पर्यटकको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
प्रकाशित मिति: २०२५-०४-२२ , समय : २३:२३:१६ , ७ घन्टा अगाडि